Wednesday, 12 September 2012

तिम्रै यादमा घुट्की नशाको पिएर बस्दैछु



तिम्रै यादमा घुट्की नशाको पिएर बस्दैछु
तिम्रै प्रतिक्षामा म त आफै खिएर बस्दैछु ।

खुशीको बाहार ल्याउछु तिम्रै लागि भन्दै
सबैसबै पिडाहरू आफैसँग लिएर बस्दैछु ।

जीवन बित्दैछ मरुभुमीमा बनेर बन्दकी
रगत पसिना अर्कैको लागि दिएर बस्दैछु ।

साथ् तिम्रो भयो केबल आफ्नै कल्पनामा
दिनहरू ती मिलनका सम्झिएर बस्दैछू ।

गाह्रोरहेछ् यो जिन्दगी  जिउनलाई एक्लै
टुक्रिएको मुटु मेरो आफै सिएर बस्दैछु ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Sunday, 9 September 2012

दुई अलग ग्रहका प्राणी स्त्री र पुरुष


रोजिन शाक्य
दुई अलग-अलग घर-परिवारमा हुर्के-बढेका स्त्री-पुरुष जब दाम्पत्य जीवनमा बाँधिन्छन् तब उनीहरूका बीच अलग-अलग रहन-सहन, रीति-रिवाज, वातावरण-परिवेश, भाषा-संस्कृति, जीवनप्रतिको दृष्टिकोणले सम्बन्धको गहिराइसम्म उथल-पुथल सिर्जना गर्छ। यसबाट कहिलेकाहीँ आपसमा तालमेल बसाउन कठिन हुन्छ तर सबैमा यस्तै हुन्छ भन्ने पनि छैन। गृहस्थी चलाउन एक-अर्काको रहन-सहन, शैली, रीति-रिवाज, खानपान आदिलाई स्वीकार गर्न परस्पर सहयोगको आवश्यकता हुने कुरा स्त्री-पुरुष दुवैले सोच्नुपर्छ तर जब दुवैले एक अर्कामाथि सबै कुरा थुपार्ने प्रयास गर्छन् तब सम्बन्ध बिग्रन सक्छ। समझदारीबाट काम लिन सके ठूल्ठूला मुद्दा पनि सामान्य हुन्छन्। स-साना कुरालाई लिएर आपसमा झगडा गर्ने दम्पतीका बीच मान-अभिमानको प्रसंग उठ्न थाल्छ र कलह हुन थाल्छ।