Tuesday, 18 September 2012

बाबु र ससुरा दुई पिता


कविता शर्मा 
बाबुको मुख हेर्ने पर्व हामी हरेक वर्ष मनाउँछौं -यसपटक भदौ १ गते) । सम्भव भएसम्म आफ्ना बुबालाई भेट्न केही उपहार र खानेकुरा लिएर जाने र उहाँको सु-स्वास्थ्य एवं दीर्घायुको कामना गर्ने चलन छ । यो पर्वले पारिवारिक सम्बन्धमा प्रेम अझ बढाउने र नवीकरण गर्ने काम गर्छ । 
सामान्यतया नारीहरूको जीवनमा दुईवटा पिताको अभिभावकत्व हुन्छ । एउटा जन्म दिने र अर्को कर्म दिने । एउटा विवाहअघिको र अर्को विवाहपछिको । एउटा बुबाको घरमा जन्म हुन्छ अर्को बुबाको घरमा मृत्यु हुन्छ । जन्म दिने बुबाले गरेका कर्तव्यभन्दा कम हुँदैनन् कर्म दिने बुबाले गरेका कतिपय कर्तव्य । हामी आधाभन्दा कम जीवन मात्र बिताउँछौं जन्म दिने बुबाको घरमा, आधाभन्दा बढी जीवन कर्म दिने बुबाको घरमा बिताउँछौं । हाम्रो परम्परा र चलनअनुसार छोरीलाई हरेक बाबुआमाले पराइ घर जाने सामान सम्झन्छन् तर छोरालाई भने वंश चलाउने सन्तान र वृद्धावस्थाको सहारा मानिन्छ । 
हामीलाई जन्माउने-हुर्काउने एवं पढाउने बुबाआमालाई हामी वर्षमा तीन-चार पटक भेट्न जान्छौं । माइती जाँदा आफ्ना बूढाबूढी आमाबाबुलाई दाजु-भाउजू एवं भाइ-बुहारीले राम्रो स्याहार नगरेको देख्यौं भने, समयमा उपचार नगरेको सुन्यौं भने मीठो नबोलेको थाहा पायौं भने अत्यन्त दुःख लागेर आउँछ तर यो सब देखेर पनि हामी चुपचाप बस्नुपर्ने बाध्यतामा हुन्छौं किनभने हामी त्यही घरमा भाउजू र बुहारीभन्दा पराइ भैसकेख का हुन्छौं । हामी एकदिन भनेर के गर्ने छुच्चो मात्र भइन्छ भनेर डराउँछौं । दाजु-भाउजू वा भाइ-बुहारीको मन दुख्ला भनेर भरसक केही बोल्दैनांै । दाजुभाइ तथा भाउजू-बुहारीको मन दुखाएर फर्कियौं भने भोलि फेरि सुन्नु र सहनु तिनै बुबाआमाले हो । त्यसैले हामी बाबुको मुख हेर्ने पर्वमा उनका खुसी, दुःख, आनन्द अनि पीडा हेर्छौं र र्फकन्छांै । 

आफूलाई जन्म दिने बाबुको कष्ट र पीडाले जसरी हामीलाई दुख्छ, पोल्छ त्यसरी नै हाम्रो घरमा उनै माइतीमा भएका बूढाबूढी बुबाआमा जस्तै अर्का बुबाआमाले राम्रो स्याहार र मीठो बचन नपाउँदा उनकी छोरीको पनि मन दुख्छ, पोल्छ भन्ने कुरा बिर्सनु हुँदैन । माइतीका बुबाको कष्टमा जसरी भाउजू-बुहारीले राम्रो स्याहार गरिदिए हुन्थ्यो जस्तो लाग्छ त्यसरी नै घरमा भएका बुबाआमालाई आफ्नै माइतीका बुबाआमा सम्भिmएर स्याहार गर्नुपर्छ । माइतीलाई आफ्नो र घरलाई पराइ कहिल्यै मान्नु हुँदैन । कर्म दिने बाबुआमालाई जन्म दिने बाबुआमासरह सबै छोरीले सम्भिmदिए कुनै पनि छोरीका बुबाआमाले कष्ट र पीडा भोग्नु पर्दैन । 
आफूलाई जन्म दिने बुबाआमाभन्दा उच्च स्थानमा अरू कोही पनि हुन सक्दैनन् तर पनि कसैले आफ्ना बुबाआमा वा सासू-ससुराप्रति गर्ने कर्तव्यमा फरक देख्नु हुँदैन । यो कुरा संस्कार पनि हो र भावी पुस्ताका लागि शिक्षा पनि । 
'बाबु फाल्ने डोको' लोक कथामा जस्तो 'बाबा हजुरबालाई फाले पनि त्यो डोको चाहिँ नफाल्नु है, पछि तपाईंलाई फाल्न चाहिन्छ ।' भन्ने अवस्था सिर्जना हुन नदिन पनि हामीले बाबुआमा र सासू-ससुराप्रति समान व्यवहार गर्नुपर्छ । 
अन्त्यमा, वर्ष दिनभरि बाबु वा ससुरालाई मनैदेखि स्याहार नगरेर मुख हेर्ने दिन मात्रै स्याउ बोकेर कुद्ने हो भने त्यसलाई चेब्य्राइँ मान्नुपर्ने हुन्छ । वर्षभरि नराम्रो व्यवहार अनि एकदिन मीठो मिठाइको के अर्थ रहन्छ ? त्यसैले ढोङ नगरांै, बाबु र ससुरा दुवैलाई स्नेह गरौं । जिन्दगीका यी दुवै पितालाई उत्तिकै सम्मान गरौं ।

No comments:

Post a Comment