Sunday, 9 September 2012

दुई अलग ग्रहका प्राणी स्त्री र पुरुष


रोजिन शाक्य
दुई अलग-अलग घर-परिवारमा हुर्के-बढेका स्त्री-पुरुष जब दाम्पत्य जीवनमा बाँधिन्छन् तब उनीहरूका बीच अलग-अलग रहन-सहन, रीति-रिवाज, वातावरण-परिवेश, भाषा-संस्कृति, जीवनप्रतिको दृष्टिकोणले सम्बन्धको गहिराइसम्म उथल-पुथल सिर्जना गर्छ। यसबाट कहिलेकाहीँ आपसमा तालमेल बसाउन कठिन हुन्छ तर सबैमा यस्तै हुन्छ भन्ने पनि छैन। गृहस्थी चलाउन एक-अर्काको रहन-सहन, शैली, रीति-रिवाज, खानपान आदिलाई स्वीकार गर्न परस्पर सहयोगको आवश्यकता हुने कुरा स्त्री-पुरुष दुवैले सोच्नुपर्छ तर जब दुवैले एक अर्कामाथि सबै कुरा थुपार्ने प्रयास गर्छन् तब सम्बन्ध बिग्रन सक्छ। समझदारीबाट काम लिन सके ठूल्ठूला मुद्दा पनि सामान्य हुन्छन्। स-साना कुरालाई लिएर आपसमा झगडा गर्ने दम्पतीका बीच मान-अभिमानको प्रसंग उठ्न थाल्छ र कलह हुन थाल्छ।

'मेन आर फ्रम मार्स वुमन्स आर फ्रम विनस' का लेखक जोन ग्रे स्त्री पुरुषलाई दुई अलग-अलग ग्रहबाट आएका प्राणी मान्छन्। उनका अनुसार पुरुष मंगलबाट आएका हुन् भने स्त्री शुक्र ग्रहबाट। दुवैमा स्वभाव, आवश्यकता, रुचि, भाषा, व्यवहार एवं प्रेममा धेरै अन्तर पाइन्छ। उनीहरू आफूहरू अलग-अलग ग्रहबाट आएको कुरा बिर्सन्छन्। आपसी स्वाभाविक भिन्नताका कारण उनीहरूका बीच मत भिन्नता हुन्छ। वैज्ञानिकहरूद्वारा गरिएका शोधमा पनि स्त्री-पुरुषमा थुपै्र अन्तर पाइएको छ। मनोचिकित्सकहरू पनि स्त्री-पुरुषको स्वभावमा भएको अन्तरका बारेमा बताउँछन्। मात्र शारीरिक अन्तर नभएर, आफ्नो स्वभावको अन्तरका कारण नै स्त्री वा पुरुषको रूपको पहिचान हुन्छ। उनीहरूका अनुसार यदि स्त्री-पुरुषमा एकसमानको गुण भएको भए उनीहरूको पहिचान स्त्री वा पुरुषका रूपमा कसरी सम्भव हुने थियो ?
पुरुषले सधंै आफ्नो चाहनाअनुसार स्त्रीलाई अघि बढाउन खोज्छन् भने स्त्रीमा पनि यही भावना पाइन्छ। यही कुराले दुवैबीच टकरावको स्थिति सिर्जना हुन्छ। दुवैबीच अनावश्यक संघर्ष र तनाव सिर्जना हुन पुग्छ। दुवैले एक-अर्कालाई बुझ्न सक्दैनन्। एक-अर्काको भावनालाई सम्मान गर्न सक्दैनन्। फलस्वरूप विस्तारै समस्या उत्पन्न हुन्छ अनि बोलचाल पनि कम हुँदै जान्छ, विश्वासको कमी देखा पर्छ। प्रेमको प्रारम्भको कथा सम्बन्धविच्छेदमा गएर समाप्त हुन पुग्छ। स्त्री र पुरुषलाई दुई अलग-अलग ग्रहबाट आएको मान्नुपर्छ, कारण दुवै अलग-अलग परिवेशमा हुर्किएका छन् तिनको रहनसहन, खानपान, रीतिरिवाज, चाहना, आवश्यकता, रुचि-खुबी, व्यवहार, स्वभाव एवं आचरण आदि सबै अलग हुन्छन्। 
दुवैको भाषा पनि भिन्न-भिन्न हुन्छ। पुरुषले पुरुषको भाषा बोल्छन् भने स्त्रीले स्त्रीको। दुवैको भाषा फरक-फरक हुनाले दुवैलाई एक-अर्काको भाषा बुझ्न समस्या हुन्छ। कतिपय अवस्थामा स्त्री-पुरुष एक-अर्काको भाषा पटक्कै बुझ्न सक्दैनन्। फलस्वरूप उनीहरूलाई एक-अर्काको साथ निर्वाह गर्न धेरै गाह्रो हुन्छ। 
निष्कर्षमा यही भन्न सकिन्छ कि स्त्री-पुरुष अलग-अलग ग्रहबाट आएका भए पनि दुवैले समझदारीपूर्वक काम गर्नुपर्छ अनि मात्र समस्याको समाधान सम्भव हुन्छ। प्रयास गरे आपसी तालमेल बन्न सक्छ र सामञ्जस्य हुन सक्छ।

स्त्रीको भाषा बुझौं 
स्त्री जब आफ्नो समस्याका बारेमा कुरा गर्छिन् तब उनलाई सान्त्वना र साथ चाहिन्छ। उनीसित बहस गर्नुको साटो उनलाई साथ र सान्त्वना दिनुपर्छ। उनी जति साथ प्राप्त गर्छिन् त्यति नै उनी पुरुषसित नजिक हुन्छिन्। आत्मीयता बढ्छ अनि सम्बन्ध प्रगाढ हुँदै जान्छ। 
महिलाहरू सधैं पुरुषले आफ्नो कुरा ध्यान दिएर सुनोस् भन्ने अपेक्षा गर्छन्। आफ्नो कुरा ध्यान दिएर सुने उनलाई सन्तुष्टि प्राप्त हुन्छ। 
महिलाहरू सधैं डिटेल अर्थात् विस्तारपूर्वक कुराकानी गर्छन्। यो उनीहरूको स्वभाव हो। त्यसलाई धैर्यपूर्वक ग्रहण गर्नु समझदार पुरुषको कर्तव्य हो।

पुरुषको भाषा बुझौं 
पुरुषलाई जब तनाव उत्पन्न हुन्छ तब ऊ एकान्तमा बस्न चाहन्छ। त्यस्तो स्थितिमा उसलाई दुःख दिनु हुँदैन। उसलाई एकान्तमा बस्न दिनुपर्छ ताकि ऊ सामान्य अवस्थामा आओस्। 
पुरुष सधैं सत्यको पक्षमा हुन्छ। त्यसैले स्त्रीले पुरुषसित सीधै साधारण शब्दमा आफ्ना कुरा व्यक्त गर्नुपर्छ। 
पुरुष आफू सधैं शान्त रहेर आफ्नो मस्तिष्कलाई पनि शान्त राख्न चाहन्छ। त्यतिबेला ऊ कुनै सही निर्णयको खोजीमा हुन्छ।

साभार : साप्ताहिक 

No comments:

Post a Comment