
१९ भदौ, काठमाडौ । घरमा दुइवटी श्रीमती भएर पनि १५ बर्षकी किशोरीलाइ कसैलाई भने मारिदिन्छु भन्दै धम्क्याएर बलात्कार गरेका छन ललितपुर हरिसिद्वीका एक यौन पिपासुले ।
दुईवटी श्रीमती घरमै राखेर पनि आफ्नो यौनतिर्खा मेट्नका लागि एक पन्ध्र वर्षीया किशोरीलाई सिकार गरे । त्यो पनि पटक–पटक उनकै घरमा घुसेर, परिवारकै सामुन्ने पनि । यी ब्यक्ती हुन ललितपुर हरिसिद्धि–१ का राजु महर्जन । ६ महिनादेखि आफ्नै गाउँकी १५ वर्षीया महिमा श्रेष्ठ (नाम परिवर्तन) किशोरीलाई बलात्कार गर्दै आएका मर्हजनलाई हाल प्रहरीले पक्राउ गरेको छ । महिमाका परिवारलाई विभिन्न धम्की दिएर उनले यौनप्यास मेट्दै आएका थिए । यस काममा महर्जनका श्रीमतीहरूले समेत आफ्नो श्रीमान्लाई सघाएको पीडित परिवारले बताएको छ ।
‘राजु घरमै आएर ढोका भत्काउन खोज्थ्यो,’ महिमाकी आमाले भनिन्, ‘खबर बाहिर गए परिवारका सबैलाई सिध्याउने धम्की दिन्थ्यो । आँखैअगाडि सबै कुरा हुँदा पनि कसैलाई भन्न सकेनौँ ।’
महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पीडितको मौखिक उजुरीका आधारमा राजुलाई पक्राउ गरेको हो । पीडितले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको छैन । राजुलाई अहिले अनुसन्धानका लागि हिरासतमा राखिएको छ । स्थानीय सरकारी विद्यालयमा कक्षा सातमा पढ्ने महिमा अहिले एउटा बालगृहको संरक्षणमा रहेकी छिन् ।
उक्त राजुले गत वर्ष फागुन २८ गतेदेखि भदौ ९ गतेसम्म लगातार बलात्कार गर्दै आएको र यौन सम्पर्क गरेको भिडियो रेकर्डसमेत गरेका राजुले भिडियो गाउँभरि फैलाइदिने चेतावनी दिएको पनि बालिकाकी आमाले बताईन । सो भिडियो अहिले प्रहरीले लिएको पनि उनको भनाइ छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी वसन्त पन्तले राजुलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको बताए । उनले भने, ‘बालिकासँग बयान लिँदा बलात्कार गरेको भनेकी छन्, ल्याब टेस्ट गर्न पठाएका छौँ, रिपोर्ट आएपछि सबै कुरा थाहा हुन्छ ।’
आफ्नो सम्पत्तिको आडमा गाउँमा रवाफ र दादागिरी जमाउँदै आएका राजुका दुई श्रीमती छन् । जेठी अम्बिका र कान्छी केशरी । राजुका दुवै श्रीमतीले आफ्नो घरको काम गर्न महिमालाई बोलाउने गर्थे । नाइँनास्ती गर्दा पनि केहीसीप लाग्दैनथ्यो । गत फागुन २८ गते कान्छी श्रीमती केशरी महिमालाई बोलाउन घरमै आइन् । महिमा विद्यालय जाने तयारीमा थिइन् । तर, केशरीले निकै कर गरेपछि उनी काम गर्न गइन् । घरको काम सकिएपछि केशरीले महिमालाई घर पठाइनन् ।उनका श्रीमान् राजुसँग घुम्न जाऊ भन्दै रेस्टुरेन्टतिर पो पठाइन् । महिमाकी आमाले भावुक हुँदै भनिन्, ‘मेरी छोरीलाई घर पठाउनुको सट्टा साउनीले त उनकै श्रीमान्सँग रेस्टुरेन्टतिर पो पठाइछन् ।’