Saturday, 22 September 2012

तिमीलाई सम्झने यो मनले बेहाल बनायो


तिमीलाई सम्झने यो मनले बेहाल बनायो
बगेर आसु मन भित्रै मेरो ताल बनायो ।

लाग्छ यो ज्यान अडिएछ तिम्रै मायामा
याद्ले नै तिम्रो छचल्किने छाल बनायो ।

दौडन्थे म निकै खै  के भयो आजकल
संगतले तिम्रै मेरो सुस्त चाल बनायो ।

बाटो पनि अल्मलिन्छ कुन्नी किन हो
अल्झाएर तिम्रै मायालेनै झाल बनायो ।

बुझ्नै नसकिने यो माया कस्तो हो
मलाई बाध्ने त्यहि एउटा जाल बनायो ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Tuesday, 18 September 2012

बाबु र ससुरा दुई पिता


कविता शर्मा 
बाबुको मुख हेर्ने पर्व हामी हरेक वर्ष मनाउँछौं -यसपटक भदौ १ गते) । सम्भव भएसम्म आफ्ना बुबालाई भेट्न केही उपहार र खानेकुरा लिएर जाने र उहाँको सु-स्वास्थ्य एवं दीर्घायुको कामना गर्ने चलन छ । यो पर्वले पारिवारिक सम्बन्धमा प्रेम अझ बढाउने र नवीकरण गर्ने काम गर्छ । 
सामान्यतया नारीहरूको जीवनमा दुईवटा पिताको अभिभावकत्व हुन्छ । एउटा जन्म दिने र अर्को कर्म दिने । एउटा विवाहअघिको र अर्को विवाहपछिको । एउटा बुबाको घरमा जन्म हुन्छ अर्को बुबाको घरमा मृत्यु हुन्छ । जन्म दिने बुबाले गरेका कर्तव्यभन्दा कम हुँदैनन् कर्म दिने बुबाले गरेका कतिपय कर्तव्य । हामी आधाभन्दा कम जीवन मात्र बिताउँछौं जन्म दिने बुबाको घरमा, आधाभन्दा बढी जीवन कर्म दिने बुबाको घरमा बिताउँछौं । हाम्रो परम्परा र चलनअनुसार छोरीलाई हरेक बाबुआमाले पराइ घर जाने सामान सम्झन्छन् तर छोरालाई भने वंश चलाउने सन्तान र वृद्धावस्थाको सहारा मानिन्छ । 
हामीलाई जन्माउने-हुर्काउने एवं पढाउने बुबाआमालाई हामी वर्षमा तीन-चार पटक भेट्न जान्छौं । माइती जाँदा आफ्ना बूढाबूढी आमाबाबुलाई दाजु-भाउजू एवं भाइ-बुहारीले राम्रो स्याहार नगरेको देख्यौं भने, समयमा उपचार नगरेको सुन्यौं भने मीठो नबोलेको थाहा पायौं भने अत्यन्त दुःख लागेर आउँछ तर यो सब देखेर पनि हामी चुपचाप बस्नुपर्ने बाध्यतामा हुन्छौं किनभने हामी त्यही घरमा भाउजू र बुहारीभन्दा पराइ भैसकेख का हुन्छौं । हामी एकदिन भनेर के गर्ने छुच्चो मात्र भइन्छ भनेर डराउँछौं । दाजु-भाउजू वा भाइ-बुहारीको मन दुख्ला भनेर भरसक केही बोल्दैनांै । दाजुभाइ तथा भाउजू-बुहारीको मन दुखाएर फर्कियौं भने भोलि फेरि सुन्नु र सहनु तिनै बुबाआमाले हो । त्यसैले हामी बाबुको मुख हेर्ने पर्वमा उनका खुसी, दुःख, आनन्द अनि पीडा हेर्छौं र र्फकन्छांै ।