Thursday, 23 August 2012

राष्ट्रपतिले आफ्नो नेतृत्वमा सरकार बनाउनु पर्छः विजुक्छे


७ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राष्ट्रपतिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बर्खास्त गरेर आफ्नै नेतृत्वमा सरकार गठन गर्नु पर्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालको अगुवाईमा गएका पत्रकारहरुको टोलीसँगको भेटमा विजुक्छेले दलहरुसँग छलफल गरेर राष्ट्रपतिले आफ्नै नेतृत्वमा सरकार गठन गर्नु पर्ने धारणा राख्नुभयो ।
अहिले समन्वयकारी शक्तिको रुपमा मुलुकमा ‘मिटिङ पोईन्ट’ राष्ट्रपति भएको भन्दै उहाँले सहमति गर्न नसकने प्रधानमन्त्रीलाई घोक्रयाएर निकाल्नु पर्ने बताउनु भयो । प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकार जति लामो समय रहन्छ त्यति नै मुलुकका लागि दुर्भाग्य हुने चेतावनी दिदै उहाँले त्यसबाट मुलुकलाई जोगाउने एक मात्र उपाय राष्ट्रपति शासन भएको जिकिर गर्नुभयो । नेमकिपाका अध्यक्ष विजुक्छेले भन्नुभयो-’राष्ट्रपति यसरी चुप लागेर बस्न मिल्दैन । अब कदम चाल्नु पर्छ ।’
संविधानसभा विघटन गराएर अध्यादेशबाट शासन सञ्चालन गर्ने र सत्ता कब्जा गर्ने रणनीतिका साथ माओवादी आगाडि बढेको दावी गर्दै उहाँले राष्ट्रपतिले हस्तक्षेप गर्नु पर्ने बताउनु भयो । उहाँले जनतालाई दुःख नदिने गरी बालुवाटार घेरेर प्रधानमन्त्रीलाई काम गर्न नदिन आब्हान गर्नुभयो ।
माओवादीलाई भारतको ‘ट्रोजन हर्स’को संज्ञा दिदै विजुक्छेले भारतको सहयोगमा जनयुद्ध गरेका माओवादीले अहिले पनि भारतकै हितमा काम गरिरहेको आरोप लगाउनु भयो । ‘जनयुद्धको बेला भारतबाट ट्रकमा हालेर हतियार ल्याएको ड्राईभरलाई मैले नै भेटेको थिए । प्रचण्डलाई भेटदा पहिलो पटक दिल्लीको संसद छेउकै होटलमा भारतीयहरुले नै भेटाएका थिए । दोस्रो पटक पन्जाबमा भेटिएका थिए’ नेमकिपा अध्यक्ष विजुक्छेले भन्नुभयो-’भारतको समर्थन नभएको भए प्रचण्ड त्यसरी बस्नै सक्दैन थिए ।’

No comments:

Post a Comment